यसवर्ष गहुँको उत्पादन बढ्ने ।।

यसवर्ष गहुँको उत्पादन बढ्ने भएको छ । उम्रेदेखि दाना लाग्ने बेलासम्म पटकपटक पानी परेका कारण गहुँबालीलाई फाइदा पुगेको कृषि वैज्ञानिकहरुको भनाई छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कका बरिष्ठ वैज्ञानिक डा. ध्रुबबहादुर थापाका अनुसार पर्याप्त सिंचाई पाएका कारण गहुँ खेती राम्रो भएको छ । अहिले कतिपय क्षेत्रमा गहुँ पाक्ने बेला भएको छ भने कतै बाला लाग्ने बेला भएको छ । तराईमा चैतमा र पहाडमा जेठसम्ममा गहुँ थन्क्याउने गरिन्छ । धान र मकैपछि अर्को मुख्य खाद्यान्न बालीको रुपमा लिइने गहुँका ३४ वटा जात सिफारिस भैसकेका छन् । यसमध्ये विजय, गौतम, डब्लु के १२०४, एनएल ९७१ लगायतका जात बढि प्रचलित छन् । यस्तै तराईका लागि एनएल १०७३ र पहाडका लागि डाँफे नामको नयाँ जात सिफारिस हुने क्रममा रहेको थापाले जानकारी दिनुभयो । माटोमा सुक्ष्म तत्वको कमी हुँदा दाना नलाग्ने जस्ता समस्या देखिने भएकाले लगाउने बेलामै विचार पुर्याउनुपर्ने उहाँले बताउनुभयो । कृषि विज्ञसँग सल्लाह गरेर बिउ लगाएमा यस्तो समस्या नदेखिने उहाँको भनाई छ ।

Both comments and pings are currently closed.

Comments are closed.