एन्फाको प्राविधिक निर्देशक र सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रशिक्षक कृष्ण थापा सँग विश्वकप फुटबलको सेरोफेरोमा गरेको कुराकानी ।

यस पटकको विश्वकपलाई कसरी हेरिरहनुभएको छ ?

विश्वकप फुटबल प्रतियोगिता सबै फुटबल प्रेमीका लागि चार वर्षमा आउने महान चाड हो । सबैभन्दा धेरै पटक विश्वकप जित्ने राष्ट्रले नै यस पटकको विश्वकप आयोजना गर्दैछ । यसकारण पनि यसको अझै महत्व छ । विश्वभरका उत्कृष्ट खेलाडी मैदानमा उत्रिने भएकाले पनि विश्वकपलाई महत्वका साथ हेरिरहेको छु ।

विश्वकप सुरु भएसँगै कसले जित्ने भन्ने अड्कलबाजी भइरहेका छन्, तपाईंलाई कुन टिमको पल्ला भारी छ जस्तो लाग्छ ?

पेले जस्ता महान फुटबलरले भनेका कुरा त मिलेका छैनन्, भनेपछि हामीले भनेको मिल्छ भन्ने छैन, त्यसैले हामीले अनुमान मात्रै गर्ने हो । अर्को कुरा अनुमान र चाहना फरक हुन्छ । म जहिलेपनि जर्मनीको समर्थक हुँ । त्यहाँको फुटबल एसोसिएसनले नेपालको फुटबललाई निकै सहयोग गरेको छ । त्यहाँबाट धेरै कोच आएर यहाँ प्रशिक्षण गराएका छन् । खेलको कुरा गर्दा पनि विश्वकप तीन तीन पटक जितिसकेको टिम हो ।

तैपनि यसपटक मैले विश्वकप ब्राजिल वा स्पेनमध्ये एक टोलीले जित्छ भन्ने अनुमान गरेको छु । मेरो प्राथमिकता भनेको जर्मनीलाई नै हो तर बलियो टिम र आयोजक भएकाले ब्राजिलको संभावना धेरै छ भने डिफेन्डिङ च्याम्पिएन राम्रो टीम कम्बिनेनश भएकाले स्पेनको संभावना पनि धेरै छ ।

जर्मनी चाँही कहाँसम्म पुग्छ भन्ने लाग्छ तपाईंलाई ?

मैले फाइनल जितोस भन्छु । उनीहरुले विश्वकप नजितेको पनि १० बर्ष भइसक्यो । भाग्यको कुरा गर्दा पनि दश दश बर्षमा विश्वकप जितेको इतिहास छ । जर्मनीमा पनि एक से एक राम्रा र उच्च क्षमता भएका इतिहास बोकेका खेलाडी छन् । जर्मनी यो विश्वकपमा ड्यासिङ टिम हो । सेमिफाइनलसम्म छ सहजै पुग्छ, त्यसभन्दा पनि अघि जाओस् र जितोस् भन्ने पनि छ ।

नेपालमा स्पेन र ब्राजिल बाहेक अर्जेन्टिनाका समर्थक पनि धेरै छन्, अर्जेण्टिनाको खेलको प्राविधिक पक्ष कस्तो छ ?

ब्राजिल र अर्जेन्टिना दुवै दक्षिण अमेरिकी देश हुन् । अर्जेन्टिना भनेको म्याराडोनाले इतिहास बनाएको देश पनि हो । अहिले धेरै दर्शक लियोनेल मेसीबाट उत्कृष्ट खेलको अपेक्षा गरेका छन् । शारीरिक रुपमा निकै राम्रो टोली छ अर्जेन्टिना । लङ्  पास र फिजिकल्ली पनि उनीहरु राम्रा छन् । उनीहरुको सम्भावना पनि कम आँक्न मिल्दैन ।

हाम्रा धेरै खेलाडी र समर्थकले विश्वकप हेर्नेछन्, हाम्रो तत्काल विश्वकप खेल्ने कुरा त टाढाकै कुरा हो तर यो विश्वकपबाट हामीले के सिक्न सकिन्छ ?

हाम्रा खेलाडीहरु युरोप वा ल्याटिन अमेरिका गएर खेलेर तिखारिएर आए भने केही गर्न सक्छन् भन्ने त उदाहरण विमल घर्तीमगरबाट देखिएको छ । हाम्रो फुटबलका लागि आएको पैसा दुरुपयोग भएको छ । विदेशबाट प्राप्त सहयोग हाम्रो गोल हिंसा विरुद्धको बोल जस्ता के के कार्यक्रममा खर्च भइरहेको छ । खेलाडीलाई टिएडिए दिन सक्या छैन कोचले समयमा पैसा पाउँदैन क्लवले पुरस्कार पाउँदैन तर यस्ता नाटकी कार्यक्रममा लाखौ रुपैया खर्च भइरहेको छ ।

सही ठाउँमा पैसा खर्च भएको छैन । एन्फासँग करोडौं पैसा छ तर त्यसको सही सदुपयोग गर्न सकेको छैन । त्यो पैसा सही ठाउँमा प्रयोग भयो भने विमल जस्ता तीस जना खेलाडी उत्पादन भए हामी विश्वकपमा छनौट हुन केही समस्या छैन । एन्फामा भएका कामको पनि छानबिन गर्ने र नयाँ ढंगले अघि बढाउने बेला भइसक्यो । एन्फा सही बाटोमा हिँड्यो भने आगामी १० वर्षमा नेपाल विश्वकपमा छनौट हुन्छ ।

एउटै म्याचमा दुई पेनाल्टी हान्न लगाएपनि गोल गर्न नसक्नुको जिम्मेवारी कोचले पनि लिनुपर्छ तर एन्फाले कसैसंग सल्लाह नगरि फेरि तिनै कोचलाई बोलाएको छ । प्राविधिक निर्देशक म छु तर कुनै सरसल्लाह बिनै कोचलाई बोलाइयो आखिर किन ? कोच राम्रो छ कि छैन भन्ने कुरा प्राविधिक निर्देशकलाई थाहा हुन्छ कि एन्फाका पदाधिकारीलाई ? फुटवल लाइभ हेर्न ब्राजिल जाँदा खेलाडी कोचलाई लान सकिंदैन थियो र ? किन प्रशानिक मान्छे मात्रै जाने ? अरु देशले प्राविधिकहरुलाई लगिएको हुन्छ । हामीले अरु देशबाट पनि सिक्नुपर्छ । प्राविधिक रुपमा बलियो बनाउने र समयमा प्रशिक्षण हुने हो भने हाम्रो विश्वकप यात्रा टाढा पनि छैन ।

भनेपछि सम्भावना छ तर सुधारको खाँचो छ होइन त ?

पक्कैपनि बिमल जस्ता खेलाडी उत्पादन गर्न सके र उनीहरुलाई स्तरीय प्रशिक्षण दिन सके यो नेपालको विश्वकप यात्रा असम्भव छैन । तर गर्ने कस्ले ? थाल्ने कहिले ? जस्ता आधारभुत कुराको जवाफ खोजिनुपर्छ । प्रतिभाका हिसाबले हामी कम छैनौ । देशमा फुटबलको इज्जत र माहोलपनि धेरै छ । यसले अझ सहयोग गर्छ फुटबलको विकासका लागि ।

Both comments and pings are currently closed.

Comments are closed.